पोखरा, १९ कात्तिक - नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज पोखरा आउनुहुने भएको छ।

कार्यक्रमअनुसार राष्ट्रपति मुखर्जी मध्याह्न १२ः४५ बजे पोखरा विमानस्थलमा आइपुग्नुहुने पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिनुभयो।
पोखरा विमानस्थलमा राष्ट्रपति मुखर्जीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल लगायतले स्वागत गर्नुहुनेछ ।
क्षेत्रीय प्रशासक बरालका अनुसार पोखरा भ्रमणलाई भव्यरुपमा सफल बनाउनका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको छ।
राष्ट्रपति मुखर्जीलाई पोखरा विमानस्थलदेखि उहाँले केही समय आराम गर्ने विरौटास्थित पोखरा ग्रान्ड होटलसम्म विभिन्न टोल समुदायका सर्वसाधारणले स्वागत गर्नेछन्।
त्यस्तै, विमानस्थलबाट राष्ट्रपति मुखर्जीले दिउँसो ३ बजे सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहित स्वागत गरिनेछ। भारतीय पेन्सन क्याम्पमा सम्बोधन गरेपछि उहाँ काठमाडौँ फर्कने कार्यक्रम छ ।
Write Comment Below:
No comments:
Post a Comment