एजेन्सी नयाँदिल्ली : भारतमा हिन्दुत्वको बारेमा पुस्तक लेखेर चर्चामा आएका एक पत्रकारले प्रधानमन्त्री मोदीको हातबाट पुरस्कार ग्रहण गर्नु अनुपयुक्त हुने भन्दै पुरस्कार वितरण समारोह वहिष्कार गरेका छन्। भारतको अंग्रेजी दैनिक इन्डियन एक्सप्रेसले नन-फिक्सन तर्फ रामलाल गोयन्का पुरस्कार टाइम्स अफ इन्डियाका पत्रकार अक्षय मुकुललाई दिने निर्णय गरेको थियो।

तर मुकुल उक्त समारोहमा नगएपछि उनको पुस्तक ‘गीता प्रेस एण्ड द मेकिंग अफ हिन्दु इन्डिया’ प्रकाशन गर्ने हार्पर कोलिन्सका सम्पादक कृष्ण चोपडाले मुकुलका निम्ति उक्त पुरस्कार ग्रहण गरे।
भारतीय दैनिक इन्डियन एक्सप्रेसले आफ्ना संस्थापक रामनाथ गोयन्काको सम्मानमा उत्कृष्ट पत्रकारिता पुरस्कार स्थापना गरेको हो।
विगत २ दशकदेखि टाइम्स अफ इन्डियाका लागि रिपोर्टिंग गरेका मुकुलको पुस्तकले भारतमा हिन्दुत्व राजनीतिको वैचारिक आधारमा प्रकाश पारेको छ।
भारतमा मोदी राजनीतिको उदय पनि हिन्दुत्वको वैचारिक आधार नै हो, तर मुकुलले मोदीको हातबाट पुरस्कार ग्रहण गर्न रुचाएनन्। २०१५ को अगष्टमा प्रकाशित भएपछि चर्चामा आएको उक्त पुस्तकले ‘टाटा लिटरेचर लाइभ’ लगायतका पुरस्कार प्राप्त गरेको छ। पुस्तकले समालोचकहरुबाट पनि अत्यन्त धेरै प्रशंसा कमाएको थियो।
गोयन्का पुरस्कार प्राप्त गर्नु आफ्ना निम्ति सम्मान भएपनि प्रधानमन्त्री मोदीको हातबाट उक्त पुरस्कार लिनु समस्याग्रस्त हुने मुकुलले बताएका छन। ‘मोदी र मलाई एकै तस्बिरमा र क्यामेरामा हाँस्दै उनले मलाई पुरस्कार प्रदान गरेको तस्बिरबारे म कल्पना गर्न सक्दिनँ,’ मुकुलले भनेका छन्।
उनले पतलिया हाउस कोर्टमा कालो कोट लागाएका भारतीय जनता पार्टीका कार्यकर्ताले विद्यार्थी र पत्रकारलाई आक्रमण गरेको घटना सम्झिए। उक्त आक्रमणको नेतृत्व मोदीको भारतीय जनता पार्टीका नेता ओपी शर्माले गरेका थिए। मोदी र उनको दलले स्वतन्त्र पत्रकारिताको अभ्यासमाथि गरेको प्रहारका कारण पनि उनको हातबाट त्यस्तो पुरस्कार लिनु अनुपयुक्त हुने मुकुलको भनाइ छ।
पुरस्कार प्रदान गर्ने उक्त समारोहमा मोदीलाई निम्ता दिएकोमा इन्डियन एक्सप्रेसका वरिष्ठ सम्पादकहरु पनि खुसी नभएको भनाइ छ। उनीहरुले मोदी जस्तो समाजलाई ध्रुवीकृत गर्ने व्यक्तिबाट पुरस्कार वितरण गराउनु उपयुक्त नहुने तर्क गरेका थिए।
|
|
|
Write Comment Below:
No comments:
Post a Comment